Rem Bahadur BK

Covered By: Naya Patrika Daily

आदरणीय सम्पूर्ण ‘उच्च मानव’ज्यूहरू,

कोरोनासिर्जित लकडाउनका कारण तपाईंको व्यक्तिगत र सार्वजनिक जीवनमा असर परेका कारण धेरै पीडा झेल्नुपरे पनि तपाईंहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा छ । त्यसो त त्रासमय वातावरणमा पनि कोरोना रोकथाम र नियन्त्रणमा हामी सबै एकजुट भएर सरकार र विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्दै आएका छौँ । र, हामी कोरोनालाई जित्दै पनि छौँ । 

तर, मलाई यतिखेर कोरोनाभन्दा डरलाग्दो भाइरसका बारेमा तपाईंहरूसँग केही कुरा साटासाट गर्न मन लागेको छ । कोरोना अस्थायी भाइरस हो, र यसलाई समयक्रमसँगै हामी जित्ने नै छौँ । तर, युगौँदेखि नेपाली समाजले जित्न नसकेको र जित्न नचाहेको भाइरसका कारण भर्खरै मात्र रुकुम (पश्चिम) चौरजहारीमा दलित भएका कारण गाउँलेको कुटाइबाट नवराज विकसहित अरू साथीहरूको मुत्यु भएको छ । यता रूपन्देहीको देवदहमा दलित बालिकाको बलात्कारपछि हत्या भएको छ । कोरोनाको त्रासभन्दा यो मान्छेले दिने पीडाले झनै पीडित बनाएको छ । 

कोरोनाविरुद्ध हामी जसरी जात, वर्ग, लिंग नभनी लड्दै छौँ, यो जातको भाइरसविरुद्ध हामी सबैको आवाज एउटै हुन सकेन । आज नेपालभर यस घटनालाई लिएर दलित समुदाय आन्दोलनमा छ । तर, आफूलाई सामाजिक न्याय, मानवअधिकार, समाजवादको पक्षधर भनेर चिनाउने मित्रहरूको यो आन्दोलनमा न्यून उपस्थिति छ । 

आउनुस्, सबै प्रकारका विभेद अन्त्यका लागि साथमा हिँडौँ । हामी आन्दोलनमा छौँ, तपाईंहरूलाई पनि स्वागत छ ।

त्यसो त दलितमाथि हिंसा हुँदा दलित मात्रै पीडित हुनुपर्छ भन्ने मानसिकता कायमै छ । त्यसैले पनि दलितको मुद्दा दलितको मात्रै बन्दै आएको छ । यो मुद्दा हामी सबैले खोजेको समृद्धिको बाधक हो भन्नेमा एकमत हुन सकेनौँ । अहिले पनि हत्या–हिंसाका घटना हामी सबैले हेरिरहेकै छौँ, तर हामी बोल्न सकेका छैनौँ । बोल्न चाहन्नौँ । या, यो मुद्दामा दलितले मात्रै बोल्नुपर्छ भन्ने ठान्छौँ । 

हामी विकास खोज्छौँ, सामाजिक न्याय खोज्छौँ, समृद्ध नेपाल खोज्छौँ, तर मित्रहरू, समाजको एउटा तप्कालाई जीवन–मृत्युको दोसाँधमा छाडेर हामीले कस्तो समाज निर्माण गर्न सकौँला ? हिंसा त हिंसा हो, अहिले दलितमाथि सिर्जना हुने हिंसाको मानसिकताले समाजका अन्य क्षेत्रमा पनि हिंसाको मानसिकता रोप्दै आएको हामी किन बिर्सिन्छौँ । विडम्बना ! विभिन्न रूपमा जातीय छुवाछूतको भाइरस र भेदभावको अन्त्यका लागि बनेका ऐन, कानुन, संवैधानिक अधिकार र संयुक्त राष्ट्रसंघले जारी गरेका मानवअधिकारका सबै नीति निर्देशन पनि हामी सबैले पालना गरेका छैनौँ । पालना गरेको भए यो जातीय छुवाछूत, भेदभाव, हिंसात्मक गतिविधि समयमै नियन्त्रण हुने थियो र जातीय भेदभाव अन्त्यको दिशामा हामी जाने थियौँ । 

हामी मानव जाति हौँ भने यो जातीय विभेद नेपालमा संस्थागत र भयावह हुँदै जाँदा हामी सबैले यसका विरुद्ध निन्दा गर्न, संघर्ष गर्न र जातिभेदको अन्त्य गर्दै न्यायको पक्षमा भूमिका खेल्न सक्नुपर्ने होइन र ? म र हामी दलित समुदाय पनि तपाईंहरूलै जस्तै उच्च जीवन जिउन चाहन्छौँ । हामीलाई पनि जातको डर, भय नराखी मायाप्रेम गर्न मन लाग्छ । मन परेको मान्छेसँग जीवन बिताउन मन लाग्छ । मन परेको ठाउँमा गच्छेअनुसार खान मन लाग्छ । सबैका मालिक भगवान्को मन्दिर गएर निर्धक्क भगवान्को आराधना गर्न मन लाग्छ । हाम्रो मन छ, कुनै युवा या युवती मन पर्दा सबैभन्दा पहिला आफ्नो जात सम्झिन नपर्ने अवस्था होस् । 

तर महानुभावहरू, के हामीले त्यसो गर्न सकेका छौँ त ? तपाईंहरूले हामीबाट सम्मान खोस्नुभयो, मायाप्रेम खोस्नुभयो, हुँदाहुँदा भगवान्समेत तपाईंले निजीकरण गर्नुभयो । समुदायका सबै मानव हुनका लागि संघर्ष गरौँ । तपाईंहरूलाई भन्न मन लाग्छ, म र हामी मरेका मात्रै छैनौँ, प्रतिसेकेन्ड जातीय विभेदले हामीलाई मरेतुल्य बनाएको छ, जुन तपाईंहरू महसुुुस गर्न सक्नुहुन्न । किनकि, त्यो घाउचोट तपाईंको वंशलाई लागेकै छैन । नवराज विकहरूजस्तै कैयौँले तपाईंहरूकै जात वा समुदायका मान्छेबाट मारिनुपरेको छ । जनावरलाई भन्दा पनि तल्लो व्यवहारको कार्य तपाईंकै पुस्ता र समुदायले गरेको छ । 

हामी मानव जाति हौँ भने जातीय विभेद नेपालमा संस्थागत र भयावह हुँदै जाँदा हामी सबैले यसका विरुद्ध निन्दा गर्न, संघर्ष गर्न र जातिभेदको अन्त्य गर्दै न्यायको पक्षमा भूमिका खेल्न सक्नुपर्ने होइन र ?

कहिलेकाहीँ लाग्छ, यस्ता दलित समुदायमाथि गरिने हत्याहिंसाले तपाईंहरूजस्ता मानवको पनि मन दुख्नुपर्ने हो । तर, तपाईंहरूलाई यस्ता घटनाले पिरोल्दैन, दुख्दैन । जीवनभर दलित समुदायले असमानता, अन्याय, अत्याचार, हिंसा र जातीय छुवाछूतका विरुद्ध संघर्ष गरे, जुन अझै पनि जारी छ । यदि अझै पनि जातलाई संस्थागत बनाउने प्रयास जारी रहेमा र जातपातलाई मलजल गर्ने काम हुँदै आएमा हामी असमानता र अन्यायका विरुद्धमा मात्र होइन, तपाईंहरूकै अर्थात् ‘उच्च मानव’विरुद्ध लड्न बाध्य हुनेछौँ । यसको दोषी तपाईंहरू नै हुनुपर्नेछ । 

तपाईंहरू दलित समुदायको पक्षमा उभिनुभयो भने त्यो दलित समुदायकै लागि ठूलो आवाज हुनेछ र परिवर्तन तथा न्यायका लागि त्यसले ठूलो महत्व राख्नेछ । दलित समुदायका लागि यो गर्व र खुसीको कुरा हुनेछ । तपाईंले दलितको पक्षमा र जातिवादविरुद्ध लेख्न, कुरा गर्न, भौतिक रूपमा उपस्थिति जनाउनुभयो भने मात्रै बल्ल तपाईंको मानवता देखिनेछ । तर, समाजमा यो भाइरस आजको दिनसम्म पनि उही अवस्थामै कायम छ । 

तपाईंहरू शिक्षित, आधुनिक र लोकतान्त्रिक समाजमा बाँच्न त चाहनुहुन्छ, तर यो समाजमा एकथरी दलित समुदायमा भने क्रोध र पीडाले चहर्‍याएको छ । यसलाई तपाईंहरूले महसुस गर्नुपर्नेछ । म र तपाईं बस्ने समाज र देश एउटै हो । कृपया यो बुझ्नुस् कि दलित सदियौँदेखिको अन्याय र अपराधमा अब पनि मौन बस्नेछैनन् । किनभने, हामी संरचनागत जातीय भेदभावलाई भत्काउन चाहन्छौँ ।

हाम्रा अपेक्षा बढी छैनन् । तपाईंहरूको अनुभूति मात्रै परिवर्तनको पक्षमा एउटा महत्वपूर्ण पाइला हुन सक्छ । आफ्नो जस्तै अरूको पनि सम्मान र स्वाभिमान हुन्छ भन्ने अनुभूति तपाईंहरूलाई हुनैपर्नेछ । यस्तो अनुभूति भएसँगै समाजमा हुने यस्ता घटनामा तपाईंलाई पनि पीडाबोध हुनेछ । 

आउनुस्, अब हामी सबै सामूहिक रूपले यस्ता जातिवादी संरचनालाई भत्काउन लागौँ । नवराज विकलाई न्याय दिन लडौँ, जातीय विभेदको अन्त्यका लागि लडौँ । अनि मात्र तपाईंको ‘उच्च मानवता’ देखिनेछ । आउनुस्, सबै प्रकारका विभेद अन्त्यका लागि साथमा हिँडौँ । हामी आन्दोलनमा छौँ, तपाईंहरूलाई पनि स्वागत छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *