Rem Bahadur BK

रुकुम–पश्चिम चौरजहारीमा दलित समुदायमाथि भएको नरसंहारपश्चात् हाल दलितहरू आक्रोशित छन् र न्यायका लागि सडकमा छन् । यो घटनाले नेपालमा मात्र नभई दलितका सवालमा चासो र चिन्ता व्यक्त गर्ने, संसारका विभिन्न देशमा बस्दै आएका हजारौँ दलित र गैरदलितहरूको पनि उल्लेख्य ध्यान खिचेको छ । यस्ता व्यक्ति सामाजिक सञ्जालमा सुरुवात गरिएको दलित लाइभ्स म्याटर नामक अभियानमा जोडिँदै आफ्ना विचार व्यक्त गरिरहेका छन् । कतिपयले वक्तव्य प्रकाशित गर्दै घटनाविरुद्ध विरोध जनाउँदै दलित आन्दोलनमा ऐक्यबद्धता जनाएको पनि देखियो । इतिहासमै सम्भवतः पहिलोपटक बौद्धिक जमातले दलितका सवाललाई रुकुम घटनासँग जोड्दै सञ्चार माध्यममा नियमित लेख नै प्रकाशित गरे । 

नेपाली समाजमा दलितका विषय, समस्या र पीडाहरू नयाँ होइनन्, तर विगतमा यसबारे यो स्तरको वैचारिक तथा सैद्धान्तिक बहस र लेखन हुन सकेको थिएन । ज्ञान उत्पादन क्षेत्रमा राज्यको नियन्त्रण र सीमित जात तथा लिंगको वर्चस्व थियो भने अर्काेतर्फ सञ्चार माध्यमले पनि दलित समुदायका सवाललाई पर्याप्त स्थान र समय दिएका थिएनन् । सीमित गैरदलित लेखकका लागि सुरुका समयमा दलित सवाल र समस्या लेखनको विषय नै लागेन ।

दलित विषयवस्तु राज्यको प्राथमिकतामा पनि परेन । जब दलित समुदायले मुक्ति, समानता र न्यायका लागि आन्दोलन र संघर्ष गर्न थाले, राजनीतिक र सामाजिक क्षेत्रमा पनि दलितका सवालबारे छलफल हुन थाल्यो । लोकतान्त्रिक परिवर्तनसँगै दलित सवाल पनि लेखन र बहसको पेचिलो विषय बन्न थाल्योे । बिस्तारै दलितबारे समाजका विभिन्न तह र तप्काका व्यक्तिले लेखमार्फत वैचारिक बहसको सुरुवात गर्न थालेका छन् । जातिवादी संरचना र हिन्दू वर्णाश्रम व्यवस्थाको प्रभाव समाजको हरेक संरचनामा जरा गाडेर रहेको छ । र, यसको प्रभाव नेपालको बौद्धिक वर्ग र सञ्चार माध्यममा पनि छ । यस्तो अवस्थामा पनि न्यायप्रेमी र प्रगतिशील समुदायले यसविरुद्ध लेखनमार्फत आवाज बुलन्द गर्नु अत्यन्तै स्वागतयोग्य कदम हो ।  

लोकतान्त्रिक समाजमा समृद्धि, समान विकास, समाजवाद र सामाजिक न्यायसहितको व्यवस्थाको सपना सबैले देखेका हुन्छन् । यो सपनाको बाधक जातीय छुवाछुत, भेदभाव, बहिष्करण र असमानता नै हो भनेर बुझ्ने जोसुकैका लागि दलित समस्या प्रमुख दुस्मन हो । त्यसैले विभेद र अन्यायविरुद्ध बोल्न या लेख्नका लागि सोही अमुक जाति, वर्ग र लिंगकै हुनुपर्छ भन्ने छैन । विश्वको इतिहासलाई हे-यो भने पनि सबै प्रकारको क्रान्ति र परिवर्तनमा वैचारिक लेखनको भूमिका र प्रभाव महत्वपूर्ण रहेको पाइन्छ । समाज वा राज्यभित्र भएका विषयवस्तुलाई समालोचनात्मक, निष्पक्ष, वैचारिक, बौद्धिक र यथार्थपरक भएर लेखिएका लेखको समाज परिवर्तन र सुधारका लागि ठूलो महत्व हुन्छ ।

विभेद र अन्यायविरुद्ध बोल्न या लेख्नका लागि सोही अमुक जाति, वर्ग र लिंगकै हुनुपर्छ भन्ने छैन

नेपालमा दलित समुदायमाथिको दलनका विषयले रुकुम घटनापछि पहिलोपटक मिडियामा उल्लेख्य स्थान पायो । पछिल्लो समयमा रुकुम, रुपन्देही, धनुषामा दलितहरूको हत्या गरिएको छ । विभिन्न पत्रपत्रिका र अनलाइनमा यी घटनासँग सम्बन्धित रहेर थुप्रै लेख प्रकाशित भए । ०७७ जेठ १० देखि असार १० सम्म राष्ट्रियस्तरका दश पत्रपत्रिका र अनलाइनमा प्रकाशित गरिएको विचारसम्बन्धी लेखहरूको निगरानी गर्दा यो एक महिनाको अवधिमा कान्तिपुर दैनिक १७, नयाँ पत्रिका दैनिक १६, नागरिक दैनिक १५, अन्नपूर्ण पोस्ट पाँच, नेपाल समाचारपत्र दुई, गोरखा पत्र दैनिक एक, सेतोपाटी तीन, अनलाइन खबर सात, रातोपाटी सात, बाह्रखरी सात गरी दलितसम्बन्धी ८० वटा विचार लेखहरू छापिएका थिए । लेखकहरूमा पनि ३६ जना दलित र ४४ गैरदलित थिए भने महिलाका १६ र पुरुषका ६४ लेख थिए । गैरदलित महिलाका ११ र दलित महिलाका पाँच लेख थिए । दलित लेखकमध्ये पुरुषले ३१ र महिलाले पाँचवटा लेख लेखेको पाइन्छ । अधिकांश लेख रुकुम र अगिरा पासीको घटनासँग सम्बन्धित थिए ।

माथिको तथ्यांक हेर्ने हो भने दलित समुदायबाट पनि लेख्ने र वैचारिक बहस गर्नेको संख्यामा वृद्धि आएको पाइन्छ । दलितका बारेमा गैरदलित लेखकले नै धेरै लेखेको देखिन्छ । खासगरी नयाँ पुस्ताका गैरदलित युवाले दलितबारे लेखेको र वैचारिक बहस गरेको उल्लेख्य रूपमा पाइयो । किन गैरदलित युवाले दलितका बारेमा लेख्न थाले भन्ने प्रश्नमा लेखक उज्वल प्रसार्इं भन्छन्, ‘पछिल्लो समय दलित विषयमा विश्वविद्यालयमा पनि अध्ययन गराउन थालियो ।

दलितले आयोजना गरेका सभा–सम्मेलन र खासगरी ०६२ र ६३ को जनआन्दोलनले दलित विषयमा सबैलाई सचेतना प्रदान ग-यो । खासगरी उच्च जात वा गैरदलितले पनि दलितको अवस्था र समस्याबारे महसुस गरे । दलितहरू सधैँ पछि परे, अब हामीले बोल्न, लेख्न र अभियानमा सामेल हुँदा यसले समाज परिवर्तन र सुधारका लागि सहयोग पु-याउँछ भन्ने अनुभूतिले पनि बढी जिम्मेवार बनायो र लेख्न उत्साहित गरायो ।’ गैरदलित लेखकहरूले दलितले भन्दा पनि आलोचनात्मक र विश्लेषण गरेर नेपालको जातिवादी संरचना, धर्म, परम्परा र उच्च जातीय सोचबारे समालोचनात्मक ढंगले लेखेका छन् ।

रुकुम घटना जातीय विभेदकै परिणाम भएको स्विकारेका छन् र समाजमा विद्यमान जातिवादी संरचनाविरुद्ध खरो रूपमा उत्रिएका पनि छन् । यस सवालमा लेखक राजेन्द्र महर्जन भन्छन्, ‘समाजमा भएका विभेद र समस्याबारे सचेतनाको स्तरमा वृद्धि भएको भनेर पनि बुझ्न सकिन्छ । र, आफ्नो कर्तव्य र दायित्व महसुस गरी अब हामी नयाँ पुस्ता चुप लागेर बस्न हुन्न भन्ने लागेर पनि धेरैजना लेख्न उत्साहित भए ।’

अहिले दलितहरूमा पनि आफ्नो पीडा र मर्म आफैँले नै बोल्न र लेख्नुपर्छ भनेर दलित विषयमा अध्ययन अुनसन्धान गर्ने र वैचारिक बहसमा लाग्ने क्रमको विकास र विस्तार भएको पाइन्छ । लेखक धनकुमारी सुनार भन्छिन्, ‘समग्रमा दलित महिला र सिंगो महिलाहरूको लेख नेपाली सञ्चार माध्यममा नआउनुका केही कारण छन्, जस्तै– गैरदलितले लेखेको राम्रो र दलितले लेखेको नराम्रो भन्ने मानसिकता अहिले पनि हाम्रो समाजको छ ।

नाम र लेखका शीर्षक हेरेपछि भित्रको विषयवस्तु र विचार अध्ययन गर्न नचाहने प्रवृत्ति छ । एक त नेपालका सिंगो महिलालाई नै यस्ता विषयमा लेख्ने र बोल्ने वातावरण नेपाली पुरुष प्रदान समाजले दिएकै छैन । अर्काे पक्ष सबै सञ्चार माध्यम केही सीमित मान्छेको सिन्डिकेट, नियन्त्रण र पहुँचमा छ । अझै पनि दलित तथा महिला लेखकले लेखेका लेख प्रकाशन गर्न ठूलो संघर्ष गर्नुपर्ने अवस्था छ ।’ 

सुनारका अनुसार अझ दलित महिलाहरूको लेख्ने कलामा विकास नहुनुको मुख्य कारण जात व्यवस्था नै हो । सिंगो महिला र दलित महिला धैरैजसो बहस, छलफल तथा विचार मन्थनमा सामेल हुन नसक्नुमा विभिन्न किसिकमका बाधा–बन्धन छन् । विचार–लेखहरूको अध्ययन हेर्दा दलितका सवालमा महिला, जनजाति र मधेसी लेखकले ब्राह्मण समुदायका लेखकको तुलनामा घेरै कम लेखेको पाइन्छ ।

पहिलाभन्दा उल्लेख्य रूपमा दलितका विषयले स्थान पाएको भए पनि हाल लेखिएका लेख पनि पर्याप्त भने छैनन् । लेखनलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । दलितको सवालमा लेख्ने र बोल्ने क्रम अभियानकै रूपमा अघि बढाउनुपर्ने देखिन्छ । नेपालका दलित र गैरदलित दुवैले जात व्यवस्थाविरुद्ध वैचारिक लेख लेख्दै जानु आजको टड्कारो आवश्यकता हो । 

(दलित आन्दोलनमा सक्रिय विक जागरण मिडिया सेन्टरका अध्यक्ष हुन्)

२०७७ श्रावण १ बिहीबार नयाँ पत्रिका दैनिकमा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *